Light Nepal

आइफोनको मूल्य घटाउने तयारी गर्दै एप्पल

काठमाडौं, फागुन ११ । एप्पलका कार्यकारी अधिकृत टिम कुकुले आइफोनको व्यापार बढाउन केही स्थानमा फोनको मूल्य घटाउने संकेत दिएका छन् ।

पछिल्लो तीन महिना आइफोनको नाफा १५ प्रतिशतले कम भएपछि कम्पनीको कूल राजस्व एक वर्ष पहिलेको भन्दा ५ प्रतिशत लगभग ८४।३ अर्ब डलर पुगेको हो । यसरी अपेक्षा गरिएको भन्दा कम आम्दानी हुनेबारे लगानीकर्ताहरुले यसअघि नै चेतावनी दिइसकेका थिए । यसका लागि कम्पनीले चिनियाँ आर्थिक संकटलाई दोष दिएको छ ।

अधिकृत कुकका अनुसार डलरको भाउ बलियो हुँदै गर्दा विदेशी उपभोक्ताहरुले तुलनात्मक रुपमा आइफोनको उच्च मूल्य चुकाइरहनु परेको छ । यसैकारण उनले केही स्थानमा आइफोनको मूल्य कम गराइने बताएका हुन् ।

यसमा उनले कुनै निश्चित देशको नाम भने तोकेका छैनन् । पछिल्लो समय चीन लगायत, हङकङ, टर्की र ताइवानमा समेत एप्पलको व्यापार २५ प्रतिशतले कम भएको छ भने युरोपमा पनि तीन प्रतिशतले गिरावट आएको बताइएको छ । यस्तोमा एप्पलले चिनियाँ बजारमा सबैभन्दा बढी स्थान गुमाउनु पर्दा कम्पनीलाई धेरै क्षति पुगेको बताइएको हो जसकारण एप्पलको शेयरमा समेत ठूलो गिरावट आएको हो ।

यता अमेरिकामा मात्र एप्पलको व्यापार पाँच प्रतिशतले बढेको हो । त्यसैले यो समयलाई एप्पलको हालसम्मकै सबैभन्दा खराब प्रदर्शन बताइएको छ । तरपनि कुकले आफू आइप्याड र म्याकको बलियो व्यापारबारे विश्वस्त रहेको बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्