Light Nepal

अन्तर्राष्ट्रिय महिला दिवस: ‘इतिहास, चुनौती र अवसर’

गीता थापाफागुन २४ । आज १०९ औं अन्तराष्ट्रिय महिला दिवस दिन हो । विशेषतः महिला माथिका शोषण, असमान व्यवहार, महिलाप्रति हुने दुव्र्यवहार र विभेदविरुद्ध जसरी लडे त्यसैको विरुद्धमा र आज पनि जुन समस्याहरु छन्, ती समस्यालाई समाधान गर्दै कसरी महिलाहरु अगाडि बढ्ने भन्ने नै आजको मुख्य विषय हो ।

आज हामी २१ औँ शताब्दीको युगमा आधुनिकताको जीवनशैली र विकासवादी सभ्यतासँग आफ्नो तालमेल मिलाइरहेका छौं । हजारौ हजार वर्षको पुरुष–गुलामी पश्चात नारी सशक्तिकरणले नारी सचेतनासँगै मुक्तितर्फ क्रमिक रुपमा परिवर्तनहरु आइरहेको पक्कै छ । तर पनि यो शताब्दीको आधुनिक युगले नवीन संस्कृतिमा जति नै अभूतपूर्व परिवर्तन देखाए पनि हाम्रो देशको सन्दर्भमा सामाजिक, सांस्कृतिक विचारधारामा लुकेको परम्परागत जडता यति बलियो छ कि राजनीतिक विचारधारा र कानूनी रुपमा देखिएको परिवर्तनले सन्तुष्टि दिन सक्ने अवस्था अझै सृजना हुन सकेको छैन ।

अझै पनि हाम्रो समाज पुरुषप्रधानता जस्तो संकीर्ण सोचबाट मुक्त हुन सकेको छैन । सिंगो मानव समाजको सारा सभ्यता, संस्कृति र सामाजिक बिकासमा नारी शक्तिको उतिकै योगदान छ जति पुरुष शक्तिको । नारीमा प्रेम, कोमलता, ममता, सहनशीलता, धैर्यता, करुणा, वात्सल्यता आदि अनेकौँ गुणहरु विधामान हुन्छन् शक्तिको अभूतपूर्व स्रोत र जीवनदायिनी भनेर चिनिने मातृशक्तिको यो सारा सभ्यता, संस्कृति र सामाजिक निर्माणको क्षेत्रमा बराबरी सहभागिता हुन नसक्दा, नारीहरुको योगदान कम देखिएको छ पुरुषको दाँजोमा ।

आफूलाई सर्वश्रेष्ठ घोषित गर्दै हरक्षेत्रमा पुरुषले कब्जा जमाएको छ र एक्लो पुरुष शक्तिद्वारा निर्देशित समाजमा नारीहरुले आफ्नो उन्मुक्तिको निम्ति अविराम संघर्ष कोरल्नुपर्ने बिषय उपर बोध गराउँछ अन्तराष्ट्रिय नारी दिवसले । प्रत्येक वर्ष अंग्रेजी महिनाको ८ मार्चको दिनलाई बिश्वभरिका महिलाहरुले, महिला हक हित र अधिकार सम्बन्धी मुद्दामा आधारित विभिन्न खाले भेला, गोष्ठी नारी सशक्तिकरणर सचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै नारी दिवसको रुपमा मनाउँछन् । जसरी यस वर्ष पनि संसारभरिका महिलाहरुले १०९ औं अन्तराष्ट्रिय नारी दिवस मार्च आठलाई विभिन्न नारी जागरण कार्यक्रमहरुसहित धुमधामले मनाउन लागिएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको इतिहास : महिलाले सामाजिक, राजनीतिक, आर्थिक र साँस्कृतिक सहितका विभिन्न क्षेत्रमा झेल्नु परेका समस्या र त्यसको अवस्थाका बारेमा वकालत गर्ने र जागरुक बनाउने उद्देश्य अन्तर्राष्ट्रिय महिला दिवसको हो । हरेक वर्ष यहि उद्देश्यसहित विश्वभर मार्च ८ का दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाईन्छ ।

महिलाको अवस्था र सहभागिता सामाजिक, राजानीतिक, आर्थिक तथा साँस्कृतिक क्षेत्रमा बलियो बनाउँदै लैजानका लागि वकालत गर्ने अर्थात महिलाको सबलिकरणको पक्षमा आवाज बुलन्द गर्ने पवित्र दिनको रुपमा मार्च ८ लाई लिने गरिएको छ । विश्वमा महिलाका लागि अनन्त सम्भावनाहरु रहेको तर त्यसको प्राप्तिका लागि पहुँचको सवाल कमजोर बनेकाले उद्देश्यपूर्ण सहकार्यबाट महिलाको सबलिकरण सम्भव हुने महिलाको सबलिकरणको पक्षमा काम गर्दै आएका संस्थाले बताउने गरेका छन् ।
यो दिनलाई महिलालाई महिला भएकोमा लाज होइन गर्व गर्नु पर्छ भन्ने कुरालाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका महिलाको योगदानको कदर गर्ने दिनका रुपमा पनि लिइन्छ ।

अन्तर्राष्ट्रिय महिला दिवस सुरुमा सन् १९११ को मार्च १९ मा मनाइएको थियो । पहिलो अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा भएको कार्यक्रममा १० लाख भन्दा बढी महिला तथा पुरुषले ¥याली गरेका थिए । अन्र्तराष्ट्रिय महिला दिवसको अवधारणा अमेरिकाको सोसिअलिस्ट पार्टीले सन् १९०९ को फेब्रुअरी २८ मा घोषणा गरेको राष्ट्रिय महिला दिवसबाट प्रभावित भएको हो । अर्को वर्ष अर्थात सन् १९१० मा विश्वभरका सोसिअलिस्ट डेनमार्कमा भेला भए र सहभागीले अन्तर्रा्ष्ट्रिय महिला दिवसको अवधारणा पारित गरे । त्यसको अर्को वर्ष मार्च १९ मा पहिलो अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो, त्यो बेला यसलाई कामकाजी महिलाको अन्र्तराष्ट्रिय दिवस भनिन्थ्यो । पहिलो महिला दिवसमा डेनमार्क, जर्मनी, स्वीट्जरल्याण्ड र अस्ट्रियामा ¥याली भएका थिए ।

पहिलो अन्तर्राष्ट्रिय महिला दिवस मनाएको हप्ता दिन पनि नपुग्दै अमेरिकाको न्युयोर्क सिटीमा रहेको ट्रिएन्जल सर्टवेस्ट फ्याक्ट्रीमा आगलागी भयो । त्यसमा १४६ जनाको ज्यान गयो, ज्यान गुमाउनेमा अधिकांश त्यहाँ कार्यरत आप्रवासी महिला थिए । यो घटनाले उद्योगमा काम गर्ने अवस्था र परिवेशबारे मुख्य परिवर्तनको कारण बन्यो । त्यहि आगलागीमा मारिएका कामकाजी महिलाको सम्झनाको रुपमा पनि अन्र्तराष्ट्रिय महिला दिवस रहने गरेको छ । सुरुका वर्षहरुमा अन्तराष्ट्रिय महिला दिवस कामकाजी महिलाको अधिकार र उनीहरुको सबलीकरणका सवालमा केन्द्रित थियो ।

रुसमा पहिलो पटक सन् १९१३ को फेब्रुअरीमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको थियो । सन् १९१४ मा पहिलो विश्व युद्ध सुरु भयो । मार्च ८ मा महिलाहरुले युद्ध विरुद्ध ¥याली गरे । महिलाहरुले युद्धको समयमा विश्वभरबाट एकताको प्रदर्शन गरे ।

सन् १९१७ को फेब्रुअरी २३ (रुस), पश्चिमी क्यालेन्डरमा भने मार्च ८ का दिन रुसका महिलाले महत्वपूर्ण बन्द आह्वान गरे । यसलाई जार शासन पतनको आधार विन्दु मानिन्छ । त्यसपछिका केही वर्ष पूर्वी युरोप र सोभियत युनियनमा मार्च ८ को दिन सार्वजनिक बिदा हुने ग¥यो । बिस्तारै यो दिन विश्वभर अन्तर्रा्ष्ट्रिय महिला दिवसको रुपमा स्वीकार्य हुँदै गयो ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७५ मा अन्तर्राष्ट्रिय महिला वर्ष मनाइयो । त्यसपछि सन् १९७७ मा संयुक्त राष्ट्रसंघले आधिकारिक रुपमा महिला अधिकारको उत्सवको रुपमा मनाइने अन्र्तराष्ट्रिय महिला दिवसलाई मान्यता दियो । यो दिनलाई संयुक्त राष्ट्रसंघले ‘महिला अधिकारका क्षेत्रमा भएका प्रगतिको परिदृश्य दर्शाउन, परिवर्तनका लागि आह्वान गर्न र उत्प्रेरणा प्रदान गर्ने खालका कानुनको सम्मान गर्न तथा सामान्य महिलाले देखाएको लगनको जसले महिला अधिकारको इतिहासमा अतुलनीय योदान गरेका छन्, त्यो देखाउन’ मनाइने दिनको रुपमा उल्लेख गरेको छ ।

नेपालमा महिला दिवस, महिलाको स्थान : नेपालको नयाँ संविधान दक्षिण एसियामै उत्कृष्ट र महिलामैत्री मानिन्छ । अन्य देशको तुलनामा राजनीतिक क्षेत्रमा नेपाली महिलाहरू धेरै अगाडी बढेका छन् । कानुनले नै महिलाहरूका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ ।
उत्पीडन, जनजाति, आदिवासी, दलित, पिछडिएका वर्ग आदि महिलाका लागि निर्वाचनमा थप आरक्षणको व्यवस्था गरिएको छ । महिलाका नाममा घरजग्गा पास गर्दा कम राजश्व तिरे हुने व्यवस्था गरिएको छ । यसले महिलामा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक चेतनाको विकास गर्न सहयोग गरेको छ ।

नेपालको संविधानको मौलिक हकको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । नेपालको तीन तहको संरचनाअनुसार स्थानीय तहमा करिब ४२ प्रतिशत महिला निर्वा्चित भएका छन् । प्रदेश र केन्द्रमा पनि ३३ प्रतिशत महिलाको प्रतिनिधित्व कानुनले सुनिश्चित गरेको छ । राजनीतिक जागरण र समानताको कुरा उठे पनि अझै ग्रामीण महिलाले आफूले पाउने सुविधा पाएका छैनन् ।

आज सहरमा महिला मुक्तिका नारा लगाउदै गोष्ठी, सेमिनार आयोजना भैईरहेका समयमा दूरदराजका महिलाले भने बहुविवाह, बाल विवाह, दाइजो प्रथा, कुटपिट, सम्बन्ध विच्छेद, गालीगलौज, अपहेलना, यातना, तिरस्कार, बोक्सीको आरोप, जबर्जस्ती करणी, वैवाहिक करणी, विधवा प्रथा, घुम्टो प्रथा, अनमेल विवाह, छाउपडी प्रथा, वादी प्रथा, देउकी प्रथा आदि महिला हिंसाका सिकार बन्नु परिरहेको छ ।

नेपालको सन्दर्भमा हरेक समुदाय, समाज, संस्कृति, धर्ममा महिलामाथि हिंसा रहेको पाइन्छ । हिमाल, पहाडदेखि तराई–मधेससम्म, उच्च घरानादेखि सुकुम्बासी झुपडीसम्म, राजनीतिज्ञदेखि मतदातासम्म जहासुकै र जोसुकैबाट तथा जतिबेला पनि महिला हिंसा भैरहेको देखिन्छ । यसले के प्रस्ट पार्छ भने ग्रामीण महिलाको सशक्तिकरण गरेर उनीहरुलाई अगाडी बढाउन एक दिन महिला दिवस मनाएर मात्र हुदैन, पुरातनबादी सोचमा परिवर्तन र पुरुषबादी मानासिकतामा शुद्धिकरण हुनसके मात्र समानताको व्यवहार भएर सही रूपमा महिलाको सशक्तिकरण सम्भव हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्