Light Nepal

नेपालगन्ज विमानस्थल जाने चोकमा बम: सेनाले पार्यो निस्कृय, नवलपरासीमा ल्यापटप बमको आतंक

नेपालगंज ३० फागुन । बाँकेको नेपालगन्ज उप–महानगरपालिका २० राँझा चोकमा फेला परेको बम डिस्पोज गरिएको छ । नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बन्दका क्रममा बिहिबार बिहान राँझा चोकमा बम फेला परेको थियो । राँझा चोक नेपालगन्ज स्थित राँझा विमानस्थल जाने बाटो हो ।

नेपालगन्ज कोहलपुर सडक खण्डको राँझा चोक नजिक राखिएको उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोजल गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सरकारले प्रतिवन्ध घोषणा गरेको नेत्रविक्रम चन्द विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव बाँकेमा समेत परेको छ । जिल्लामा भित्रीने र जिल्लाबाट बाहिरिने लामो दुरीका सार्वजनिक सवारी साधनहरु चल्न सकेका छैनन् भने अधिकांश शिक्षण संस्था, कलकारखाना बन्द छन् ।

स्थानीय रुट चल्ने सार्वजनिक सवारी साधन भने आशिंक रुपमा सञ्चालनमा आएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बन्दका क्रममा अहिलेसम्म कुनै अप्रिय घटना घटेको छैन । बन्दलाई मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपालगन्ज, कोहलपुर लगायतका स्थानमा नेपाली सेनाको टोलीले पैदल गस्ती गरिएको छ । चोक चोक ठूलो मात्रामा नेपाल प्रहरी र शशस्त्र प्रहरी समेत परिचालन गरिएको छ ।

पूर्वी नवलपरासीका विभिन्न स्थानमा फेला परेका बमका कारण बिहीबार दिनभर जिल्लाको जनजीवन आतंकित बन्यो। शंकास्पद वस्तुसहित जिल्लाका विभिन्न स्थानमा ८ वटा बम फेला परेका थिए। एक ठाउँमा बम आफैं विष्फोट भयो। अन्य ठाउँमा राखेका शंकास्पद वस्तुसहित सबै बम नेपाली सेनाको ‘बम डिस्पोज टोली’ले निस्कृय पारेको थियो। विभिन्न स्थानमा राखेका शंकास्पद वस्तु र बमका कारण दिनभर सुरक्षाकर्मी पनि तनावमा देखिन्थे। त्यसक्रममा फेला परेको ल्यापटप ‘बम’ ले अर्को आतंक सिर्जना गर्यो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत देवचुली नगरपालिका–११ को दलदलेस्थित सडकको कल्भर्ट तल ल्यापटपको ब्याट्रीमा बारुद भरेर विष्फोट गराउन राखिएको भेटियो। उक्त ल्यापटप बमलाई निष्कृय पारिएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक लिलाराज लामिछानेले बताए।

ब्याट्रीमा बारुद भरेर कल्भर्टमुनी राखिएको अवस्थामा भेटिएको थियो। झोलमा राखेको वस्तु शंकास्पद देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तत्कालै पुगेको नेपाली सेनाको टोलीले त्यसलाई डिस्पोज गरेको नायब उपरीक्षक लामिछानेले जानकारी दिए। गैंडाकोट नगरपालिकाको थुम्सीमा रहेको ‘गौली ग्रुपले प्लटिङ’ गरेर राखेको जग्गामा राखिएका ५ वटा बमलाई नेपाली सेनाको टोलीले निस्कृय पारेको छ।

प्रतिक्रिया दिनुहोस्