Light Nepal

संगठित अपराध गरेकाले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको सरकारको भनाइ

काठमाडौं, फागुन ३० । संगठित अपराध गरेकाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपालाई प्रतिबन्ध लगाउनु परेको सरकारले स्पष्ट पारेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले यस्तो बताउनुभएको हो ।

मन्त्री बास्कोटाले संगठित अपराध ऐन २०७०, फौजदारीलगायतका प्रचलित कानुनअनुसार नै प्रतिबन्ध लगाएको बताउनुभयो । ‘विप्लव’ समूहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने जोकसैलाई कारवाही गर्ने पनी उहाँले बताउनुभयो । अवैध हतियार राख्नेलाई ३५ दिनभित्र बुझाउन सूचना प्रकाशन गर्ने र गैरकानुनी रुपमा हतियार राखेको पाइए पनि बुझाउनेलाई भने कारबाही नहुने निर्णय भएको उहाँले बताउनुभयो ।

मन्त्रिपरिषदले ललितपुरको खुमलटारस्थित रेडियो नेपालको एकसय ४२ रोपनी जग्गा दुरसञ्चार प्राधिकरणलाई दिने निर्णय पनि गरेको छ । सरकारले दुई राजदूतलाई मन्त्रीको सुविधा दिने निर्णय गरेको छ । यसै हप्तामा बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागिन नेपाली राजदूत निलाम्बर आचार्य र संयुक्त राज्य अमेरिकाका राजदूत अर्जुनबहादुर कार्कीलाई मन्त्रीस्तरको सेवा सुविधा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले परराष्ट्र सेवामा दुई जना उपसचिवको दरबन्दी थप्ने निर्णय पनि गरेको जानकारी प्रवक्ता बास्कोटाले दिनुभयो । सरकारले विदेशी नियोगमा जाँदा प्रमुखले लैजाने व्यक्तिगत सहयोगीका लागि पनि विशेष राहदानी व्यवस्था गर्ने निर्णय गरेको छ । मन्त्री बाँस्कोटाका अनुसार यस्तो विशेष राहदानी प्रमुखको कार्यकाल सकिएसँगै राहदानी विभागमा बुझाउनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्