Light Nepal

उकालोमा गाडी नरोकेको भन्दै प्रहरीले चालक कुटे, चालक कुटेको भिडियो खिच्ने अर्कालाई विप्लवका कार्यकर्ता भन्दै फेरी कुटे

पाँचथर, ५ चैत । नागिन प्रहरी चौकीका हवल्दार टीका बस्नेतले पिकअप गाडीका चालक सहित तीन जनालाई निर्घात कुटेका छन् । गाडीका चालक र सहचालकलाई कुटपिट गरेको भिडियो खिच्ने अर्का सर्वसाधारणलाई विप्लवका कार्यकर्ता भन्दै घुँडा टेकाएर फेरी कुटेका छन् । फिदिमदेखि चाउचाउ बोकेर नांगिन गइरहेको पिकअपका चालक र उनका सहचालकलाई कुटपिट गरेका हुन् ।

कञ्चनजंघा इन्टरप्राइजेजको चाउचाउ बोकेर गइरहेको मे १ च ४५५७ नम्बरको गाडीका चालकले उकालोमा गाडी रोक्न नमानेपछि उनले निर्घात कुटेका थिए । हवल्दार बस्नेतले गाडी चालक फिदिम ४ बस्ने भीमबहादुर विश्वकर्मा, सहचालक जीवन लावरलाई निर्घात कुटे । त्यसरी कुटपिट गरेको देखेका स्थानिय दीपक फुयालले कुटपिट गरेको भिडियो मोवाइलमा खिचे । भिडियो खिचेको देखेका प्रहरी हवल्दार वस्नेतले किन भिडियो खिचेको भन्दै उनलाई पनि कुटपिट गरेका हुन् ।

फिदिम फालोट सडकखण्ड अन्तर्गतको नांगिन खण्डमा गाडी रोकेर बसेका बस्नेतले चाउचाउ बोकेर गएको पिकअप भ्यानको चालक विश्वकर्मालाई गाडी रोक्न भने । चालक विश्वकर्माले सामान बोक्ने गाडी भएकाले ठाउँ नभएको भन्दै गाडी नरोकी गएपछि लाखेटेर आफू र सहचालकलाई कुटेको बताए।

भिडियो खिच्ने फुयाललाई किन भिडियो खिचेको पत्रकार हो भनेर सोधेका थिए। आफू पत्रकार नभई सामान्य नागरिक भएको भनेपछि प्रहरी हवल्दारले फुयाललाई घुडा टेक्न लगाएर विप्लव समूहको कार्यकर्ता भन्दै तिग्रामा लाठी बजारेका थिए । कुटपिटमा संलग्न हवल्दार बस्नेतलाई जिल्ला प्रहरी कार्यालय फिदिम ल्याइएको छ। उनीमाथि छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकारी बताए । सहचालक लावर र भिडियो खिच्ने फुयालको तिघ्रामा निलडाम छ। कञ्चनजंघा इन्टरप्राइजेजका प्रोपाइटर नवराज घिमिरेले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्