Light Nepal

अमेरिकाले प्रचण्डलाई दियो ‘नो इन्भेष्टिगेसन सर्कुलर’, त्यसकारण प्रचण्ड पक्राउ पर्ने सम्भावना छैन

काठमाडौं, ५ चैत । दुई दिन अघि अमेरिका उडेका पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्डको अमेरिकामा बस्ने नेपालीहरुले सामाजिक सञ्जाल मार्फत विरोध जनाइरहेका छन् । खासगरी नेपाली कांग्रेस समर्थक कार्यकर्ताहरुले प्रचण्डको विरोध गरिहेका छन् । उनी विरुद्ध अमेरिकी विश्वविद्यालयमा अध्ययनरत नेपाली तिलक बहादुर श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबिआईमा उजुरी दिँदै पूर्व प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न समेत माग गरेका छन् ।

प्रचण्ड विरुद्ध दिइएको उजुरीमा प्रचण्डलाई परिचित आतंकवादी समेत भनिएको छ । उनले जनयुद्धको समयमा १७ हजार नेपालीको ज्यान लिएको र उनको नाम अमेरिकाको आतंकवादीको सूचीमा समेत रहेकोले उनलाई पक्राउ गरी कारबाही गर्न माग गरिएको छ । जति नै विरोध र उनी विरुद्धका कृयाकलाप भएपनि प्रचण्ड भने अमेरिकामा ढुक्क छन् । त्यसो हुनुमा कारण छ ।

स्रोतका अनुसार प्रचण्ड अमेरिका उड्नु अघि सानेपा स्थित एक होटलमा प्रचण्ड र अमेरिकी राजदूत रेण्डी बेरीबीच भएको वार्तामा बेरीले दूतावासले नो इन्भेष्टिगेसन सर्कुलर जारी गरेपछि मात्र उनी उडेका हुन् । सोही वार्ता पछि प्रचण्डकालागि राजदूतावासले सो सर्कुलर जारी गरेको थियो ।

सो सर्कुलर अमेरिकाको गुप्तचर एजेन्सी, प्रहरी प्रशासन, अध्यागमन लगायत सबै सम्बन्धित निकायमा पठाईन्छ । सो सर्कुलर निश्चित समयको लागि हुन्छ र सो समय सकिएपछि भने ती निकायहरुले सो व्यक्तिलाई समाउन पनि सक्छ । त्यसैले प्रचण्ड यस पटक उजुरी परेपनि अमेरिकामा पक्राउ पर्ने सम्भावना नरहेको प्रचण्डको सचिवालय स्रोतले जानकारी दिएको हो ।  नेपाली कांग्रेस निकट जनसम्पर्क समिति अमेरिकाका नेताले पत्नी सीताको उपचारबाहेक अन्य राजनीतिक भेटघाट गरेमा विरोध गर्ने र कानुनी बाटोसमेत अबलम्बन गर्ने धारणा सार्वजनिक गरेका छन्।

जनसम्पर्क समिति अमेरिका नेता प्रमोद सिटौला सामाजिक सञ्जाल फेसबकुमा लेख्छन्, ‘पत्नीको उपचारमा हामी पनि संवेदनशील छौं, तर त्योभन्दा माथि जाने प्रयास गरेमा कालो झण्डा देखाउनेदेखि अन्य विरोधका कार्यक्रम गर्ने छौं।’ स्थायी रुपमा अमेरिकामा बस्ने नेपालीको संख्या ठूलो छ । त्यसमध्ये तत्कालीन माओवादी पीडितका नाममा राजनीतिक शरण लिनेको ठूलो समूह छ। त्यसरी शरण लिने समूहले पनि त्यसमा चासो देखाएका छन् । भेनेजुयलाको पक्षमा प्रचण्डले विज्ञप्ती जारी गरेका कारण अमेरिका र प्रचण्ड बिच दुरी बढेको आँकलन गरिएको थियो । तर अमेरिकाले उनलाई दिएको  नो इन्भेष्टिगेसन सर्कुलरु पछि अमेरिका र प्रचण्ड बिच सम्बन्धमा सुधार आएको अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्