Light Nepal

कपिलवस्तुमा आगलागी, १५ घर जलेर नष्ट

बुटवल, चैत ८ । कपिलवस्तुको शिवराज नगरपालिकामा भीषण आगलागी भएको छ। शिवराज नगरपालिका-६, पैकिबण्डामा भिषण आगलागी हुँदा ११ वटा फुसका घर र ५ गोठ जलेर नष्ट भएका छन्। आगलागीमा परी स्थानिय सनाउल्ला मियाँ घाइते भएका छन्।

बुधइ कुर्मीको घरबाट सल्किएको आगोले बहाव मुसलमान, इलाकत मुसलमान, हदिस मियाँ, राहत मियाँ, अब्दुलगनी मुसलमान भगौतीपाल, अब्दुल कलाम, सनलाउल्ला मुसलमान, बर्मा कुर्मी, किसलावती कुर्मिको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीमा किताबउल्ला मुसलमान, बर्साती चमार, कोदइ कुर्मी, मन्जुर नाउँ र समिम नाउँको गोठ जलेर नष्ट भएको छ। आगलागीले घरमा भएको अन्नपात, लत्ताकपडा, नगद पूर्णरुपमा जलेको छ। आगलागीमा एउटा गाई जलेको छ भने २ वटा गोरुसमेत आगोमा परी घाइते भएका छन्।

आगलागीबाट करीब ५४ लाखको क्षति भएको अनुमान गरिएको छ। आगो निभाउने क्रममा घाइते भएका सनाउल्लाको बहादुरगञ्ज अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, तौलिहवा र कृष्णनगर नगरपालिकाका दुई दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको हो। चर्को गर्मी र हावाहुरीका कारण बुधइको घरबाट सल्केको आगोले छिनभरमा नै गाउँ खरानी बनाएको हो।

गत चैत्र १ गते शिवराज नगरपालिका १, बनकसका ४ घरहरु जलेर नष्ट भएका थिए।

प्रतिक्रिया दिनुहोस्