Light Nepal

हावाले उडाएको आगोले भित्र्याउने बेला भएको ७ विगाहा जमिनको गहुँबाली नष्ट, दमकललाई समेत आगो निभाउन मुस्किल

परासी, २ वैशाख । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका थन्क्याउने बेला भएको गहुंवाली आगलागीले जष्ट भएपछि किशान मर्कामा परेका छन् । पाल्हीनन्दन गाउँपालिकाको दुई स्थानमा आइतबार दिउँसो आगलागी भएको हो । आगलागी हुँदा करिब ७ बिगाहामा लगाइएको गहुँबाली जलेर नष्ट भएपछि करिब ६ लाख बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ।

आगलागीका कारण पाल्हीनन्दन गाउँपालिकाको वडा नं २ र ३ मा पर्ने कुस्मा गाउँमा लगाइएको १० जना किसानको करिब साढे ३ बिगाहा क्षेत्रफलमा लगाइएको गहुँबाली नष्ट भएको छ। त्यसैगरी पाल्हीनन्दन गाउँपालिका–४ को लोहरौलीमा आगलागी हुँदा ३ बिगाहा १८ कट्ठा गहुँबाली जलेर नष्ट भएको छ। उक्त क्षेत्रफलमा २० जना किसानले बाली लगाएका थिए।

अन्य किसानले काटिसकेको गहुँको नलमा आगो लगाउने क्रममा आगलागी भएको हो। नलमा आगो लगाएको बखत हावा आएर अन्य गहुँवालीमा पनि आगो फैलिएको थियो।खेत मलिलो हुने भन्दै तराई क्षेत्रमा गहुँ काटेपछि नलमा आगो लगाउने चलन छ। आगलागी पश्चात रामग्राम नगरपालिकाको दमकल नियन्त्रणका लागि पुगेको थियो। ठूलो क्षेत्रफलमा लागेको आगो नियन्त्रण गर्न दमकललाई मुस्किल भएको थियो। लगत्तै अर्को स्थानमा आगलागी भएपछि दमकल समेत पुग्न सकेन ।

प्रतिक्रिया दिनुहोस्