Light Nepal

प्रथम राष्ट्रिय परिचयपत्र वाहक भण्डारीको निधन

पाँचथर, बैशाख २ । नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गरेकी पाँचथरको फिदिम नगरपालिका ४ शान्तिपुरकी वयोवृद्धा भगवतीदेवी भण्डारीको निधन भएको छ । दमबाट ग्रसित १०२ वर्षीया भण्डारीको शुक्रवार निधन भएको उनका आफन्त सूर्य अधिकारीले जानकारी दिए । उनको शुक्रवार नै फिदिमस्थित् हेंवा घाटमा दाहसंस्कार समेत गरिएको छ ।

नेपालमै पहिलो पटक गत मंसिर ३ गते गृहमन्त्री रामबहादुर थापाले भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर राष्ट्रिय परिचयपत्र वितरणको शुरुवात गरेका थिए । गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट आफ्नो राष्ट्रिय परिचयपत्र ग्रहण गरेका थिए । भण्डारीबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको शुरुआत समेत गरिएको थियो ।

गत वर्षको असार ५ गते भण्डारीको जैविक तथा वैयक्तिक विवरण संकलन गरेर विवरण संकलन कार्यको शुरुआत भएको थियो । दिवगंत भण्डारीका दुई छोरा र एक छोरी छन् । पाँचथरमा जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको फिल्ड कार्यालय तथा इलाका प्रशासन कार्यालय रवीबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन तथा राष्ट्रिय परिचयपत्र वितरण कार्य भइरहेको छ ।

जिल्लाका ६० ओटै वडामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन शिविर तथा राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन भइसकेको फिल्ड कार्यालयले जनाएको छ । नेपाल सरकारले पाँचथरका १ लाख १० हजार नागरिक तथा सिंहदरबारका सात हजार कर्मचारीलाई पहिलो चरणमा राष्ट्रिय परिचयपत्र प्रदान गर्ने लक्ष्यअनुसार कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्