Light Nepal

एनसेलको कर निर्धारण : सात दिनभित्र ३९ अर्ब बुझाउन निर्देशन

काठमाडौं, ३ वैशाख । ठूला करदाता कार्यालयले एनसेलको पूँजीगत लाभकर र अतिरिक्त शुल्कसहित कर निर्धारण गरेको छ। सर्वोच्च अदालतले दिएको फैसलाका आधारमा कार्यालयले कर निर्धारण गरेको हो । अदालतले कर निर्धाण गरी ३ महिना भित्र उठाउन आदेश दिएको थियो । आदेशको एक हप्तापछि ठूला करदाता कर कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७१ पैसा बुझाउन एनसेललाई निर्देशन दिएको हो। सो रकम बुझाउन एक हप्ताको समय दिइएको छ।

ठूला करदाता कार्यलयले एनसेल बिक्रीमा कूल ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ ७१ रकम पूँजीगत लाभकर निर्धारण गरेको छ। अहिलेसम्म पुँजीगत लाभकर वापत अग्रिम रुपमा २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ कर बुझाइसकेको छ।

टेलिया सोनेराले एक्जियटालाई एनसेलको ८० प्रतिशत शेयर बिक्री गरेको थियो। कम्पनी बिक्री गर्दा पूँजीगत लाभकर तिर्नै नपर्ने भन्दै एनसेलले कर तिर्न आनाकानी गरेपछि सो विरुद्ध मुद्दा परेको थियो ।

मुद्दामाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको पूर्ण इजलासले एकमुष्ट सुनुवाइ गर्दै कर उठाउन आदेश दिए पछि कर कार्यालयले प्रकृया अघि बढाएको हो । ठूला करदाता कार्यालयले एनसेललाइ कर बुझाउन एक हप्ताको समय दिएको छ।

प्रतिक्रिया दिनुहोस्