Light Nepal

राजपा स्थापनाको तेस्रो वर्षमाः ‘सरकारले मधेसका मागप्रति बेवास्ता गर्यो

काठमाडौं, वैशाख ७ । राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालले शनिबार पार्टी स्थापनाको तेस्रो वार्षिकोत्सव मनाएको छ । २०७४ साल वैशाख ७ गते मधेसकेन्द्रित विभिन्न ६ पार्टी मिलेर बनेको राजपाले शनिबार काठमाडौंमा वार्षिकोत्सवका अवसरमा एक कार्यक्रमको आयोजना गर्‍यो ।

कार्यक्रममा अध्यक्षमन्डलका संयोजक शरत्सिंह भण्डारीले सरकारले मधेसका माग पूरा गर्न चासो नदेखाएको आरोप लगाए । उनले मधेसका मागप्रति बेवास्ता गर्ने सरकारको कार्यशैली निराशाजनक रहेको टिप्पणी गरे ।

राजपाले यही वैशाख ७, ८ र ९ गते महाधिवेशनको मिति तय गरेपनि पार्टीभित्रको आपसी मनमुटाव र आवश्यक तयारी हुन नसकेपछि महाधिवेशन स्थगित गरिएको छ । राजपा नेता राजेन्द्र महतोले कुनैपनि हालतमा पार्टीको महाधिवेशन गर्नुपर्ने बताउँदै छिट्टै पदाधिकारी बैठकबाट महाधिवेशनको टुंगो लाग्ने बताए ।

राजपाका अर्को नेता अनिल झाले पार्टीभित्र कुनै विवाद नभएको बताउँदै केही पदाधिकारीहरुबीच भएको असमझदारी वार्तामार्फत् समाधान गरिने बताए । पार्टीले वैशाख ८ र ९ गते पदाधिकारी बैठक डाकी महाधिवेशन कहिले गर्ने भन्नेबारे निर्णय गर्ने तयारी गरेको छ ।

शरत्सिंह भण्डारी, राजेन्द्र महतो र अनिल झा विशेष अधिवेशन गर्ने पक्षमा रहेका छन् भने महेन्द्र राय यादव, राजकिशोर यादव र महन्थ ठाकुर पूर्ण महाधिवेशनको पक्षमा रहेका छन् । यसबारे पदाधिकारी बैठकले टुंगो लगाउने पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्