Light Nepal

हेटौंडा: तीन वटा ट्रक आपसमा ठोक्किँदा १० जना घाइते, तीनको अवस्था गम्भीर

हेटौंडा, वैशाख २१ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित जैसिङमा तीनवटा ट्रक एकै साथ ठोक्किँदा १० जना घाइते भएका छन्।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। हेटौँडाबाट नारयाणगढतर्फ जाँदै गरेको ना ६ ख ३३७४ नम्बरको ट्रक र नारायणगढबाट हेटौँडातर्फ आइरहेको ना ४ ख ११९२ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन्। दुई ट्रक ठोक्किएपछि नारायणगढबाटै आइरहेको ना ६ ख ९९०७ नम्बरको तेस्रो ट्रक पनि ठोक्किएको हो।

दुर्घटना शनिबार बिहान साढे ९ बजे भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइतेहरुको उद्धार गरी ६ जनालाई उपचारका लागि भरतपुर पठाइएको र चार जनाको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि चितवन पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। एक ट्रकले अर्कोलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।

घाइतेको नामावली प्राप्त हुन सकेको छैन। घाइते हुनेमा तीनै ट्रकका चालक सहचालक र केही यात्रु पनि छन्।

प्रतिक्रिया दिनुहोस्