Light Nepal

आफुले जन्माएको बच्चा अस्पतालमा छोडेर हिड्ने पूर्व सांसद पक्राउ, होहल्ला गरेको आरोप

काठमाडौं, २२ वैशाख । ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा बच्चा छोडेर हिँडेको र होहल्ला गरेको भन्दै पूर्वसांसद गायत्री शाहलाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालमा होहल्ला गरेको भन्दै मेडिसिटी अस्पतालले उजुरी गरेपछि पूर्व सांसद साहलाई प्रहरीले पक्राउ गरेको हो ।

लापरबाहीले त्यस्तो (शारीरिक विकास कम) हुने बच्चा जन्मिएको भन्दै उनले मेडिसिटी अस्पतालमा बच्चा छोडेकी थिइन् । बच्चा जन्मदा राम्रो भएपनि एक महिना पछि जाँच गर्दा बच्चामा समस्या देखिएपछि उनले अस्पतालको लापरवाहीले यस्तो भएको बताउँदै आएकी छन् । गर्भ पनि सोही अस्पतालमा जचाउँदै आएकी पूर्वसांसद साहले अस्पतालले गर्भजाँच गर्दा नै बच्चामा समस्या भएको नबताएको आरोप लगाएकी छन् ।

आइतबार दिउँसो ४ बजे साह र उनका पति सन्तोषलाई प्रहरीले पक्राउ गरेको ललितपुर प्रहरी परिसरका एसएसपी रविन्द्र सिंह धानुकले बताए । पक्राउ पर्नुअघि साहले मेडिसिटी अस्पतालविरूद्ध उसकै परिसरमा प्रदर्शन गरेकी थिइन् ।

पूर्वसांसद साहले ‘डाउन सिन्ड्रोम’ जन्मिएको थाहा लागेपछि बच्चा अस्पतालको लापरबाही देखाउँदै बच्चाको जिम्मा अस्पतालले लिनुपर्ने दावी गर्दै आएकी छन् । उनको छोरा अहिलेपनि मेडिसिटी अस्पतालको एनआइसियुमै छन् ।

साहले फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरा जन्माएकी थिइन् । दुबै खुट्टा केही बांगो रहेको देखिएपछि एनआइसियुमा लामो समय बच्चालाई उपचारमा राखिरहेकै अवस्थामा साहले बच्चा छोडेकी हुन् ।

उनले बच्चाको बाँकी जिम्मा अस्पतालले नै लिनुपर्ने अडान राखेकी छिन् । अस्पतालले भने लापरबाही नगरेको भन्दै सो बच्चा साहले नै जिम्मा लिनुपर्ने बताएको छ ।

उनले आफु गर्भवती भएपछि नेपाल मेडिसिटी अस्पतालमा बच्चालाई प्रजनन गराउन लागि गएको बताएकी छन् । उनले अस्पतालकी डा निरा सिंह श्रेष्ठसँग सम्पर्क गरि उनको निगरानीमा मेडिकल जाँच गराई फागुन २८ गते बच्चालाई जन्म दिएको विज्ञप्तिमा उल्लेख छ । गर्भमा रहेको बच्चाको स्वास्थ्यअवस्था सामान्य रहेको भनिएको थियो ।

तर बच्चा जन्मिसकेपछि मुटु, फोक्सो, गोडा समेतमा समस्या देखिएको भन्दै अस्पतालले थप परिक्षणका लागि क्रोमोजोम एनालाइसिस गनुपर्ने बतायो । यस परीक्षणका लागि अस्पतालले रगतको नमुना संकलन गरी भारत पठाएको थियो । परीक्षणपछि बच्चामा ड्राउन सिन्ड्रोम देखियो ।

प्रतिक्रिया दिनुहोस्