Light Nepal

प्रदेश १ को राजधानी विराटनगर हुनुपर्छ भन्नेमा दुई तिहाई, नामको टुंगो भने लागेन

विराटनगर, २३ वैशाख । प्रदेशसभा गठन भएको १६ महिनापछि प्रदेश १ को राजधानी टुंगो लागेको छ । सोमवार प्रदेश राजधानीको टुंगो लागे पनि प्रदेशको नामभने अझै अन्यौल छ । लामो समयपछिको रस्साकस्सीपछि मतदानको सराहा लिंदै प्रदेश राजधानी विराटनगर टुंगो लगाएको हो ।

प्रदेश सभाका कुल ९३ मतमा विराटनगर स्थायी राजधानीका पक्षमा ८६ मत परेको थियो। विपक्षमा कसैले मतदान गरेनन्। स्थायी राजधानीका लागि कुल सांसद् सङ्ख्याको दुई तिहाइ मत आवश्यक पर्छ। जसअनुसार ६२ मतले दुई तिहाइ हुनेमा ८६ मत परेको छ। प्रदेश सभाको बैठकमा बहुचर्चित र चिरप्रतिक्षीत राजधानीको एजेन्डाले टुङ्गो पाए पनि नामकरण भने थाती नै छ।

सोमबारको प्रदेशसभा बैठकले यस अघि अस्थायी राजधानी रहेको विराटनगरको पक्षमा परेको प्रस्तावलाई पारित गर्दै स्थायी राजधानी घोषणा गरेको हो । सोमबार दिउँसो २ बजे बोलाइएको प्रदेशसभा बैठक साँझ ६ बजेपछि सुरु भएको थियो । प्रदेशसभाबाट पारित भएको प्रस्तावको भाषाले भविष्यमा जुनसुकै बेला विवाद निम्त्याउन सक्ने सम्भावना भने जीवितै राखेको छ । साँझ अवेर सम्पन्न मतदानमा सत्तारुढ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दर्ता गराएको विराटनगरको पक्षमा दुई तिहाई मत खसेको थियो।

तर उनै प्रस्तावक भण्डारीले दर्ता गराएको प्रस्तावमा भने ‘कार्यपालिका, व्यवस्थापिका लगायतका अन्य संरचनाहरू बृहत् विराट विकास क्षेत्रअन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैँचा क्षेत्र आसपासमा रहने’ उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्